उपप्रधानमन्त्री श्रेष्ठ र अष्ट्रेलियाका राजदूत भोल्कबीच शिष्टाचार भेट

उपप्रधानमन्त्री श्रेष्ठ र अष्ट्रेलियाका राजदूत भोल्कबीच शिष्टाचार भेट

कहिरन समाचार

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटर्वाता भएको छ । बिहीबार गृह मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठसँग राजदूत फेलिसिटीले भेटवार्ता गरेकी हुन् ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध सधैं सौहार्दपूर्ण रहेको र अष्ट्रेलियायाले नेपाललाई प्रदान गर्दै आएको सहायताका लागि विशेष धन्यवाद दिए ।

उनले राजनीतिक परिवर्तनपछि आफूहरूको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित रहेको तर त्यसका लागि विदेशी लगानी आकर्षित गर्ने र बढ्दो व्यापार घाटाको नियन्त्रण गर्ने काममा अष्ट्रेलियाजस्तो देशबाट साथ–समन्वयको अपेक्षा गरेको बताए । ऊर्जा र कृषिमा वैदेशिक लगानी आवश्यक भएको उनको भनाइ थियो ।

भेटमा राजदूत भोल्कले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग साझेदारी बढाउनेतर्फ छलफल भइरहेको बताए । उनले व्यापारमा समेत साझेदारी गर्न अष्ट्रेलिया इच्छुक रहेको र दुई देशबीच उच्चस्तरीय व्यापार सम्झौताको तयारी भइरहेको जानकारी दिए ।

राजदूत भोल्कले दिवङ्गत पर्वतारोहीको शव फिर्ता र मृत्युको प्रमाणपत्र उपलब्ध गराउने विषयमा नेपाली कानुन र निर्देशिकासँग नबाझिने गरी सहयोगको अपेक्षा गरेको बताएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।