‘नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकारको धारणा के हो?’

‘नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकारको धारणा के हो?’

कहिरन समाचार

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकारको धारणा माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समय लिएर उनले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै धर्म निरपेक्षताबारे सरकारसँग प्रश्न गरेका हुन् ।

सांसद पन्तले इपिजीको प्रतिवदेनप्रति राजदूत शर्माको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकारको भनाई नै उनले प्रतिनिधित्व गर्नुभएको हो कि फरक छ ? भनेर प्रश्न सोधेका हुन् । नेपाली राजदूतले १४ महिनापछि मात्र विदेशमन्त्रीसँग भेट हुनु हेपाइ भएको भन्दै उनले प्रतिरोध किन नभएको भनेर प्रश्न गरे ।

सांसद पन्तले राजदूत शर्माले बिआरआइलाई ‘लोन ट्रयाप’ जनाउँदै दिएको अभिव्यक्तिप्रति आपत्ति पनि जनाए । साथै भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नक्साबारे राजदूत शर्माको अभिव्यक्ती पनि गलत भएको तर सरकारले खण्डन नगरेको भन्दै आक्रोस पोखेका छन् ।

यस्तै आकस्मिक समयमै नेकपा एकीकृत समाजवादीका सांसद एवं पूर्व पर्यटनमन्त्री प्रेमबहादुर आलेले वर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अनियमितता गर्नेलाई नै संरक्षण दिएको आरोप लगाएका छन् ।

पशुपति क्षेत्र विकास कोषको जग्गा मात्र होइन गोठाटारको सार्वजनिक जग्गासमेत मन्त्रीकै मिलेमतोमा हिनामिना भएको आरोप उनले लगाए । माफीयालाई मन्त्री किरातीले कोषमा पुरस्कृत गर्ने तथा सार्वजनिक जग्गा हडपेको विरोध गर्ने कोषका सदस्यलाई उल्टै कारबाही गर्ने काम गरेको उनको दाबी छ ।

यस वर्षको महालेखाको प्रतिवेदन र अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणमा नेपाल वायुसेवा निगमको घाटा एक अर्ब ७० करोड देखिए पनि पर्यटनमन्त्री किरातीले तीन महिनामा निगमले चार अर्ब नाफा कमायो भनेर झुट बोलेको जिकिर गरे । सांसद आलेले काभ्रेपलाञ्चोकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ‘हेलीप्याड’ निर्माणको अनुमति दिनु पनि संविधानविपरीत भएको दाबी पनि गरे ।

यस्तै स्वतन्त्र सांसद अमरेश कुमार सिंहले भने सरकारले प्याज र आलुमासमेत कर थोपरेको सरकारले जनतालाई दुख दिने काम गरिरहेको टिप्पणी गरेका छन् ।