बजेट यथास्थितिमा पास भए सरकार ढल्छ : माधव नेपाल

बजेट यथास्थितिमा पास भए सरकार ढल्छ : माधव नेपाल

कहिरन समाचार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बजेट संशोधन नगरे वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने बताएका छन् । आइतवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भए पनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने बताए ।

उनले बजेटमा सबैजना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिए । उनले बजेट तीन जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट) केन्द्रित भएको बताउँदै आएका छन् । साथै पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको छ ।

एकीकृत समाजवादी दुई मन्त्रालयसहित सरकारमा सहभागी छ । सत्तापक्षकै सांसदहरुले बजेट आवश्यकतानुसारको नभएको टिप्पणी गर्दै आएका छन् । सत्तापक्षकै सांसदहरु बजेटमा असन्तुष्टि देखिनु र प्रतिपक्षले पनि बजेटप्रति राम्रो धारणा नबनाउनुले सत्ता गठबन्धनको सरकार टिक्ने वा ढल्ने भन्नेमा शंका उत्पन्न भएको छ ।

नेपालले भने, ‘बजेटप्रति साथीहरू सबै असन्तुष्ट र आक्रोशित हुनुहुन्छ । यही स्थितिले जाने हो सरकार दुर्घटनातिर जान्छ जस्तो लाग्छ । त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, बेठिक भएको कुरा सच्याउनुपर्छ । यो सरकार ढल्न दिनु हुँदैन, ५ वर्षसम्म यो गठबन्धन चल्छ ।’

अध्यक्ष नेपालले भारतीय नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा राख्ने कुरालाई भारतले नेपाली मनोभावना बुझ्न जरुरी रहेको बताए ।