सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो : शेखर कोइराला

सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो : शेखर कोइराला

कहिरन समाचार

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि अदालतको आदेशविपरीत रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाएका छन् ।

शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति, भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले दण्डहीनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीनवटै तहको अदालतको आदेशविपरित चौधरीलाई आममाफी दिने कुराले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउने भन्दै उनले आक्रोशसमेत व्यक्त गरे ।

‘तीन अदालत उच्च अदालत, जिल्ला अदालत, सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मसी सुक्न नपाउँदै माफी दिनुभयो । हामी जस्ताले त्यसलाई कसरी हेर्ने ? यी कुराहरु अत्यन्त गम्भीर हुन्छन् भोलिका दिनमा । सरकार टिकाउनका लागि यी कुराहरु गर्दाखेरी लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ’, उनले भने ।

यस्तै नेता कोइरालाले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातराख्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए । निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि नै प्रश्न उठ्ने गरी सरकारले सो निर्णय गरेकाले आफूहरुले विरोध गर्नुपरेको उनको तर्क थियो ।

उनले भने, ‘अहिले निर्वाचन आयोगलाई हामीहरुले स्वतन्त्र र निष्पक्ष निर्वाचन आयोग बनाउनुपर्छ भनेर भनिराखेका छौं । र, हुन पनि पर्छ । निर्वाचन आयोगलाई सिडियोको मातहतमा लगेर एउटा कोठामा लगेर राख्ने । त्यसले लोकतन्त्र मजबुत हुन सक्दैन । लोकतन्त्र मजदुत हुनका लागि निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष हुन जरुरी छ । सुशासन, पारदर्शीता, जवाफदेहिता र उत्तरदायित्व यी कुराहरु कुनै पनि लोकतन्त्रलाई सुदृढ गर्न बनेको हुन्छ ।’

नेता कोइरालाले कांग्रेस कमजोर भएको हीन भावना लिएर नबस्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । अतीतबाट सिक्न सके कांग्रेस कमजोर हुने कुनै कारण नरहेको उनले बताए ।