एमालेले ७० वर्षे उमेरहद हटायो, दोस्रो पुस्ताका नेतालाई नेतृत्वमा धक्का

एमालेले ७० वर्षे उमेरहद हटायो, दोस्रो पुस्ताका नेतालाई नेतृत्वमा धक्का

कहिरन समाचार

काठमाडौं । नेकपा एमालेले कार्यकारी नेतृत्वमा निर्वाचित वा मनोनीत हुन चाहिने ७० वर्षे उमेर हद हटाएको छ । एमाले सचिवालय बैठकले ‘कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पुरा नभएको हुनुपर्ने’ विधानको व्यवस्था निलम्बन गरेको हो ।

यो निर्णयले दोस्रो पुस्ताका नेता अध्यक्षसहित कार्यकारी पदमा छिट्टै पुग्ने सम्भावना अवरोध गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारको सचिवालय बैठकमा विधान महाधिवेशबाट उमेर हदसम्बन्धी व्यवस्था हटाउने गरी हाललाई निलम्वन गर्न प्रस्ताव राखेका थिए ।

एमालेका एक पदाधिकारीका अनुसार एकीकृत समाजवादी पार्टीबाट एमाले प्रवेश गरेका मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनाउनु पर्ने भन्दै उक्त प्रस्ताव गरेका थिए । ‘अर्कोबाट आउनुभएको नेतालाई केन्द्रिीय सदस्य बनाउन मिलेन, हाललाई यो विधानको व्यवस्थालाई निलम्बन गरौं,’ ओलीको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने । ती पदाधिकारीका अनुसार अध्यक्ष ओलीले पहिलेदेखि नै उमेर हदसम्बन्धी व्यवस्था रुचाएका थिएनन् ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले कार्यकारीका लागि उमेर हद राख्ने कि हटाउने भन्ने विषयमा विधान महाधिवेशनले निर्णय गर्ने बताए । सचिवालय बैठकले निलम्बन गरेको विधानको धारामा भनिएको छ, ‘सबै तहका कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पुरा नभएको हुनुपर्नेछ तर ७० बर्ष पुरा नहुादै निर्वाचित वा मनोनित भएको व्यक्तिले अर्को महाधिवेशनरअधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनित पदमा रही जिम्मेवारी बहन गर्न बाधा पुगेको मानिने छैन ।’

शुक्रबारको सचिवालय बैठकले संगठनको जिम्मेवारी व्यापक हेरफेर गर्नुका साथै न्यौपानेसहित १७ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले अन्य विषयमा जानकारी गराए पनि विधानको व्यवस्था निलम्बन गरिएको बारे केही उल्लेख गरेका थिएनन् ।

एमालेको २०६५ सालमा बुटवल भएको आठौं महाधिवेशनमा एउटै कार्यकारी पदमा दुई पटक भन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था गरेको थियो भने २०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनले ७० वर्ष प्रावधान ल्याएको थियो ।