प्रधानमन्त्री प्रचण्डले मध्य साउनमा चीन भ्रमण गर्ने

प्रधानमन्त्री प्रचण्डले मध्य साउनमा चीन भ्रमण गर्ने

कहिरन समाचार

काठमाडौँ । चीन भ्रमणबाट बिहीबार साँझ स्वदेश फर्किएको नेकपा माओवादी केन्द्रको उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वको टोलीले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलन गरी भ्रमण सफल र उपलब्धिमुलक भएको बताएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा दुई साता लामो चीन भ्रमणमा उपाध्यक्ष सापकोटाले प्रधानमन्त्रीको सन्देश चीनीया नेतासमक्ष राखेको बताए । उनले चीन सरकारलाई प्रधानमन्त्रीको भ्रमण आगामी जुलाई अन्तिम वा अगस्ट फस्ट अर्थात साउनको १५ गतेतिर हुनसक्ने सन्देश दिएको बताए ।

गत मंगलबार राति काठमाडौँ आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका सिचुआन प्रान्तका सचिव वाङ सियाओहुईसहितको टोलीले भारत भ्रमणमा जाने दिन बुधबार बिहान बालुवाटारमै गएर प्रधानमन्त्री प्रचण्डलाई चीन भ्रमणको निम्तो दिएको थियो ।

सापकोटाले आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्रीको भ्रमणसँगै बीआरआइअन्तर्गतका योजना सस्तो ब्याजमा बनाउने मात्र होइन केही योजना अनुदानमा दिन आग्रह गरेको पनि बताए । जवाफमा त्यहाँका मन्त्रीहरुले पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी जीन फिङसँग कुरा राख्ने बताएको उल्लेख गर्दै यसलाई सकरात्मकरुपमा लिएको बताए ।

सापकोटाले अन्तराष्ट्रिय ब्यापारिक नाकाहरु खोल्ने वा खुलेका नाकालाई व्यवस्थित गर्नेबारे पनि छलफल भएको बताउँदै केरुङ, तातोपानी, कोरला, लोमान्थाङ्का र यारी नाकालाई निर्वाध सञ्चालन गर्न चीन सरकार तयार रहेको दाबी पनि गरेका छन् । साथै चीनले नेपालको शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयमा पनि चासो राखेको उनले बताए ।

चीनले नेपालका कम्युनिष्ट्र पार्टी एक भइदिए हुन्थ्यो भन्ने चाहेको तर दबाब भने नदिएको सापकोटाको भनाइ छ । भ्रमणका क्रममा नेकपा माओवादी केन्द्र र चीनिया कम्युनिस्ट पार्टीको सम्बन्धलाई थप सुदृढ गर्ने, दुई देशबीचमा भएका सहयोग आदानप्रसाद गर्नेबारेमा पनि छलफल भएको बताए । जेठ ५ गते गएको टोली १६ दिनपछि फर्केको हो ।