प्रधानमन्त्री प्रचण्डको प्रस्ताव: साझा समस्यामा राष्ट्रिय सहमति गरौं

प्रधानमन्त्री प्रचण्डको प्रस्ताव: साझा समस्यामा राष्ट्रिय सहमति गरौं

कहिरन समाचार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरूलाई राष्ट्रिय सहमति गरेर अघि बढ्न प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा बैठकमा शनिबार बोल्दै प्रधानमन्त्री प्रचण्डले दलहरूका आ-आफ्ना विचारधारा भए पनि साझा समस्यामा राष्ट्रिय सहमति गरेर अघि बढ्न प्रस्ताव गरेका हुन् ।

पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दा केही तितामिठा अनुभूति भए पनि देश र जनताको हितलाई हेरेर एक ठाउँमा आउनुपर्ने भन्दै उनले भने, ‘त्यो अनुभूतिभन्दा राष्ट्र ठूलो हो ।’ उनले अहिले पनि आफू सहमतिका लागि लचक भइरहेको तर्क गरे ।

‘अहिले पनि राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति आवश्यक छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सुशासन, त्यसमा पनि भ्रष्टाचार विरुद्धको लडाई हामी सबै मिलेर मात्र जित्न सक्छौं ।’

यस्तै, प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित नभएको बताए । पार्टीका सांसद लेखनाथ दाहालले सो प्रकरणबारे ओलीलाई जोडेर संसदमा दिएको अभिव्यक्ति उचित नभएको प्रधानमन्त्री दाहालको स्विकारोक्ति थियो ।

प्रधानमन्त्रीले सो प्रकरणबारे पार्टीका सांसद दाहालले बोलेको कुरा संसद्का रेकर्डबाट हटाउन सकिने प्रचलन रहेको पनि स्मरण गराए ।

‘यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्ने नै छ । यसमा सरकारको सहयोग रहनेछ । पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरीसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ ।’

यस्तै प्रधानमन्त्रीले प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण सरकारले आविष्कार नगरेको टिप्पणी गरे । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यो पहिलादेखिकै चलेको विषय भएको बताएका हुन् ।

‘यो पहिलादेखिकै चलेको विषय रहेछ । यो सरकरले गरेको अनुसन्धान पनि होइन । सरकारले आविष्कार गरेर भ्रष्टाचार विरोधी अभियान सुरु गरेको पनि होइन ।’ प्रचण्डले भने, ‘हिँड्दै जाँदा भेटिएको विषय हो ।’

उनले आफूले दोषी नछुटुन् र निर्दोष नपरून् भनेर गृह मन्त्रालय र प्रहरी प्रशासनलाई स्पष्ट निर्देशन दिएको पनि बताए । यस प्रकरणलाई कसरी ह्याण्डल गर्ने भन्ने चुनौती रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले आफू अहिले अग्नि परीक्षामा रहेको महसुस गरिरहेको बताए । साथै उनले अब सरकारको ध्यान अरू बेथितिमा पनि जाने बताए ।