जलहरी प्रकरणबारे सांसदको अभिव्यक्ति हटाइने, एमालेले सदन चल्न दिने

जलहरी प्रकरणबारे सांसदको अभिव्यक्ति हटाइने, एमालेले सदन चल्न दिने

कहिरन समाचार

काठमाडौँ । प्रमुख तीन दलबीच संसदको गतिरोध हटाउने सहमति भएको छ । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकले संसद बैठकको अवरोध हटाउने सहमति गरेका हुन् ।

नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची भएपनि एमालेले हिजो नेकपा माओवादी केन्द्रका सांसदको अभिव्यक्तिलाई लिएर संसद बैठक अवरुद्ध गरेको थियो । माओवादी सांसद लेखनाथ दाहालले गत बुधबार संसदमा बोल्दा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा पशुपतिमा सुनको भनेर पित्तलको जलहरी राखेको विषयमा पनि छानबिन हुनुपर्ने भनेको विषयलाई लिएर एमालेले हिजो संसद बैठकको कारबाही अघि बढाउन रोकेको थियो ।

शीर्ष नेताहरुबीच प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा ओलीमाथि लागेको आरोपमा सत्यता नभएको भनेर बैठक अघि बढाउने सहमति भएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । शीर्ष नेताहरुबीच सांसद दाहालले जलहरीका सन्दर्भमा बोलेको कुरा संसदको रेकर्डबाट हटाउने विषयमा पनि सहमति भएको प्रमुख सचेतक गिरीले बताए ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीनै दलका प्रमुख सचेतकहरु सहभागी थिए ।

यस्तै सरकारको नीति तथा कार्यक्रम आज अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट पारित गर्ने तयारी छ । बैठकमा नीति तथा कार्यक्रममाथि बोल्न बाँकी सांसदले आफ्नो धारणा राख्नेछन् । त्यसपछि छलफलमा उठेका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको जवाफपछि सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ पेश गर्नेछन् । त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ पेश हुनेछ । संसदको बहुमत पक्षबाट नीति तथा कार्यक्रम पारित हुनेछ ।

राष्ट्रियसभाबाट भने नीति तथा कार्यक्रम यसअघि नै पारित भइसकेको छ । नीति तथा कार्यक्रमकै आधारमा सरकारले जेठ १५ गते संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्नेछ ।