गणतन्त्रको विकल्प पश्चगमन हुन सक्दैन : सञ्चारमन्त्री शर्मा

गणतन्त्रको विकल्प पश्चगमन हुन सक्दैन : सञ्चारमन्त्री शर्मा

कहिरन समाचार

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छन् ।

गणतन्त्र दिवसको अवसरमा आयोजित राष्ट्रिय समाचार समितिको ‘हाम्रो संस्कृति: हाम्रो सम्पदा’ नामक तस्बिर प्रदर्शनी कार्यक्रममा मन्त्री शर्माले गणतन्त्र र लोकतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी हुन् ।

लोकतन्त्र र गणतन्त्र नहुँदा मानिसलाई बोल्ने स्वतन्त्रता समेत नभएको भन्दै मन्त्री शर्माले गणतन्त्रको विकल्पमा पुनः पछाडि फर्कन नसकिने स्पष्ट पारिन् । उनले विभिन्न भ्रष्टाचारको विषयहरू उठाएर गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको भन्दै ती समस्याहरूको समाधान पनि गणतन्त्रभित्रै सम्भव भएको बताइन् ।

वर्तमान शासकीय व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गर्दै मुख्य उपलब्धिलाई संस्थागत गर्नुको विकल्प नहुने मन्त्री शर्माको भनाइ छ । ‘पछाडि फर्कने कुरा हुन सक्दैन । अहिले आउँदाखेरी यस्तो भयो, यत्रा भ्रष्टाचारका कुराहरू आए, दुनियाँभरि भएका छन् । यो भन्दा त हिजोकै राजतन्त्र ठिक नि भन्ने खालका प्रश्न पनि तपाईं/हाम्रा बीचमा उठ्ने गरेका छन् । मान्छेहरुले उठाउने गरेका छन् तर विषय त्यस्तो होइन । के हो भने, यसको विकल्प, समाधान त्यो होइन । गणतन्त्रको समाधान गणतन्त्रभित्रै सम्भव छ, उनले भनिन् ।