रेशम चौधरीलाई आममाफी दिन प्रक्रिया सुरू, राष्ट्रपतिकहाँ पुग्यो निवेदन

रेशम चौधरीलाई आममाफी दिन प्रक्रिया सुरू, राष्ट्रपतिकहाँ पुग्यो निवेदन

कहिरन समाचार

काठमाडौँ । सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआउँदै टिकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई आममाफी दिन सरकारले सिफारिस गरेको छ । गृह मन्त्रालयमार्फत राष्ट्रपति कार्यालयमा सजाय माफी दिन निवेदन पुगेको हो ।

राष्ट्रपति कार्यालयको कानुन महाशाखाका अनुसार बुधबार बेलुकी टिकापुर हत्याकाण्डका अभियुक्त चौधरीसहित २० जनालाई आउँदो जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा आममाफी दिन गृह मन्त्रालयले निवेदन दिएको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ मा अदालतको फैसला बमोजिम ठेकिएको सजाय पाएको व्यक्तिले सो सजाय माफी पाउन, त्यसलाई मलतवी राख्न, परिवर्तन गर्न वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपति समक्ष निवेदन दिन सक्ने व्यवस्था छ ।

निवेदन दिदाँ अदालतको फैसलाको प्रतिलिपि संलग्न गर्नु पर्ने उपदफा २ मा व्यवस्था छ । तर, सरकारले फैसलाको प्रतिलिपि संलग्न नगरी निवेदन मात्रै दिएको राष्ट्रपति कार्यालयको कानुन महाशाखाले जानकारी दिएको छ । निवेदन आवश्यक कारवाहीको लागि राष्ट्रपतिले गृह मन्त्रालयमा पठाएमा मन्त्रालयले निर्णयको लागि नेपाल सरकार समक्ष पेश गर्न सक्ने व्यवस्था छ ।

उपदफा ४ मा भ्रष्टाचार, यातना, जबरजस्ती करणी, क्रुर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको, जाति हत्या, विष्फोटक पदार्थ, अपहरण, शरीर बन्धक वा व्यक्ति बेपत्ता, मानव बेचविखन तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण र तीन वर्षभन्दा बढी कैद सजाय हुने लागू औषधको ओसारपसार वा कारोबारको कसुरदारलाई सजाय माफी गर्ने, मुल्तवी राख्ने, परिवर्तन गर्ने वा कम गर्ने कारबाही गर्न नसकिने लेखिएको छ ।

२०७४ फागुन १५ देखि थुनामा रहेका चौधरीलाई जिल्ला र उच्च अदालतले तोकेको जन्मकैदको सजाय यही जेठ २ गते सर्वोच्चले सदर गरेको थियो ।