‘जलनपीडितलाई सरकारको सहयोग चाहिन्छ, जलनको बिषय पाठ्यक्रममै राखौं’

‘जलनपीडितलाई सरकारको सहयोग चाहिन्छ, जलनको बिषय पाठ्यक्रममै राखौं’

कहिरन समाचार

काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जलन पीडितलाई पनि सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । क्यान्सर, मुटु र किड्नीका बिरामीलाई सरकारले उपचार खर्च दिइरहेको र त्यसमा जलन पीडितलाई पनि दिन आग्रह गरेका छन् ।

खाना पकाउने ग्याँसको जलनबाट घाइते भई उपचारपछि सांसद भण्डारी पहिलोपटक बुधबार प्रतिनिधिसभा बैठकमा बोलेका हुन् । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा भण्डारीले दुर्गम क्षेत्रका र आर्थिक अवस्था कमजोर भएका जलन पीडितको पक्षमा सरकारले निर्णय गर्नुपर्ने माग गरेका छन् ।

गत पुस ३ गते भण्डारी बस्दै आएको बुद्धनगरस्थित घरमा ग्यास सिलिण्डर पड्किँदा घाइते भएका थिए । आफू शौभाग्यबस बाँचेर संसद्मा बोल्ने अवसर पाएको उल्लेख गर्दै नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरू विश्वका कुनै पनि चिकित्सकहरू भन्दा कम नभएको पनि उनले बताए ।

उनले नेपालमा जलन अस्पताल सरकारले स्थापना गरे त्यो एशियाकै सवल हुने दावी समेत गरे । सांसद भण्डारीले कीर्तिपुर वर्न अस्पताल र सुष्मा मेमोरियल अस्पतालको भवन बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

यस वर्ष मात्रै जलनबाट १११ जनाको मृत्यु भइसकेको उल्लेख गर्दै सांसद भण्डारीले जलनको विषयलाई सरकारले स्कुलको पाठ्यक्रममा नै समेट्नुपर्ने उनको सुझाव थियो । ‘ग्यास कसरी बाल्ने, बिजुली बाल्ने, सडक कसरी क्रस गर्ने जस्ता विषय पाठ्यक्रममा नै समेटिनुपर्छ’, भण्डारीले भने ।

सांसद भण्डारीले ग्यासको रेगुलेटर स्वचालित मात्रै प्रयोग गर्ने कानुनी व्यवस्था र कडाइका साथ कार्यान्वन गर्न सरकारलाई आग्रह गरेका छन् । उनले स्वचालित रेगुलेटर प्रयोग गर्ने व्यवस्था गरेमा धेरैको ज्यान जोगिने बताए ।