पाँच महिनापछि मन्त्रिपरिषद्ले पायो पूर्णता

पाँच महिनापछि मन्त्रिपरिषद्ले पायो पूर्णता

कहिरन समाचार

काठमाडौं । सरकार गठन भएको पाँच महिनामा बल्ल मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । ११ औँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक मन्त्री र एक राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादव नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले महतोलाई वन तथा वातावरण र प्रमीला कुमारीलाई शिक्षा राज्यमन्त्रीको नियुक्त गरेका हुन् । मङ्गलवार एक मन्त्री र एक राज्यमन्त्रीको नियुक्तिसँगै मन्त्रिपरिषद् २५ सदस्यीय बनेको छ ।

पुस ११ मा प्रधानमन्त्री नियुक्त प्रचण्डले ३, १४ र २३ माघ, १४ र १६ फागुन, १७ चैत, ३, २१ र २४ वैशाखमा मन्त्रिपरिषद् विस्तार गरेर २३ सदस्यीय पुर्‍याएका थिए । मङ्गलवार मन्त्रिपरिषद्मा दुई सदस्य नियुक्त गरेर प्रधानमन्त्री बनेको पाँच महिनामा प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।