‘जुँगामा ताउ लाउनुपर्दैन, भारत भ्रमणमा काँतर मन र चिसोपन राख्नुभएन’

‘जुँगामा ताउ लाउनुपर्दैन, भारत भ्रमणमा काँतर मन र चिसोपन राख्नुभएन’

कहिरन समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेका हुन् ।

अध्यक्ष ओलीले प्रस्तावित नीति तथा कार्यक्रमले लोकतन्त्रप्रति सबैको विश्वास मजबुत बनाउने विस्तृत खाका नदिएको र सरकारप्रति विश्वास बढाउने कुनै कार्यक्रम पनि दिन नसकेको बताए । उनले सरकारले देशको असामान्य आर्थिक अवस्थाको यथार्थलाई पनि लुकाउन खोजेको आरोप लगाए ।

यस्तै अध्यक्ष ओलीले भ्रष्टाचारविरोधी च्याम्पियन खडा गरेर सरकारले बाघ मारेको जस्तो उधुम हल्ला गरिरहेको पनि बताए । भुटानी शरणार्थी प्रकरणमा सन् २०१२ मा केही मान्छे अमेरिका गएको भन्ने सुनेको भन्दै उनले त्यसमा सरकारले छानबिन गर्नुपर्ने बताए ।

‘सरकार बडा भ्रष्टाचार विरोधी च्याम्पियन आफू भएर आफूले के–के न बाघ मारेको जस्तो उधुम हल्ला गरिरहेको छ ।यसमा सरकारले जुँगामा ताउ लगाउनुपर्ने आवश्यकता देख्दिनँ । यो काण्ड अगाडिबाट चलिरहेको छ । यसमा गत वर्ष नै उजुर परेको रहेछ । किन गुपचुप राखियो? गिरफ्तार गरेका मान्छेलाई सट्याकसुटुक किन छोडियो,’ उनले भने ।

यस्तै ओलीले सरकारबाट मातृभूमिको प्रतिरक्षा गर्न कठिन रहेको बताउँदै सरकारलाई लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा थाहा भएको पनि नदेखिने बताए ।

‘यो सरकारबाट मातृभूमिको प्रतिरक्षा गर्न कठिन छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन? यो सरकारलाई थाहा भएको पनि देखिँदैन,’ उनले भने, ‘प्रस्तावित नीति तथा कार्यक्रमको बुँदा नम्बर १८५ मा संविधानको अनुसूचीमा रहेको नेपालको नक्सा अटाउन सकेको छैन् । त्यहाँ बोलिँदैन ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड केही दिनमा भारत भ्रमणमा जाने भएकाले नेपालको समस्या खुलस्त राख्न आग्रह गरेका छन् । उनले भारत छिमेकी मित्र राष्ट्र भएकाले काँतर मन र चिसोपन नराख्न आग्रह गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबारको संघीय संसदमा पेस भएको थियो । त्यसमाथि आइतबारदेखि छलफल सुरु भएको छ ।