पार्टीले भ्रष्टाचार र अपराधमा संलग्नको भारी बोक्न सक्दैन : गगन थापा

पार्टीले भ्रष्टाचार र अपराधमा संलग्नको भारी बोक्न सक्दैन : गगन थापा

कहिरन समाचार

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्ने भन्दै पार्टीले त्यसको भारी बोक्न नसक्ने र बोक्न नहुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पक्राउमा पार्टी संलग्न नहुने बताएका हुन् । उनले भ्रष्टचारमा संलग्नलाई पार्टीले निलम्बन गर्नुपर्ने पनि बताएका छन् ।

‘पार्टीको तर्फबाट हामीले भन्ने यतिमात्र हो, अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दोष पर्नुहुन्न, दोषीले सजाय पाउनुपर्छ’, उनले भनेका छन् ।

दोषी र निर्दोष छुट्याउने कानुनी प्रक्रियाबाट भएकाले गम्भीर आरोप लागिसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतस् पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्ने अन्यथा पार्टीले निलम्बन गर्नुपर्ने उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चहरूमा मैले यो विचार राखेको छु । पार्टीभित्र, बाहिर, औपचारिक, अनौपचारिक बैठक सबैमा हिजो पनि, आज पनि र भोलि पनि मेरो धारणा यही नै रहने छ । पार्टीका कतिपय साथीहरूबाट नेपाली कांग्रेसको यस्तो परम्परा नभएको भन्ने विचार पनि आएका छन् । यसमा पनि म प्रष्ट छु– गलत परम्परा तोडिनुपर्छ । परम्पराका नाममा घातक प्रवृत्तिलाई पार्टीले बोक्न सक्दैन, बोक्नु हुँदैन । मेरो यो विचारलाई पार्टीको विचार बनाउन म निरन्तर लागेको छु, लागिरहनेछु ।’