टोपबहादुर रायमाझी पक्राउ, म्याद थपका लागि अदालत लगिदै

टोपबहादुर रायमाझी पक्राउ, म्याद थपका लागि अदालत लगिदै

कहिरन समाचार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेको पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

नेकपा (एमाले) सचिव समेत रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । रायमाझीलाई म्याद थपका लागि सोमबार अदालतमा उपस्थित गराइँदैछ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका मानव तस्करी गर्ने गिरोहमा सामेल भएको आरोपमा जिल्ला अदालत, काठमाडौंले वैशाख २० गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए । सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।

यही प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा लगायतलाई हिरासतमा राख्न अन्तिम पटक चार दिन म्याद थप गरिएको छ ।

गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो । कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्न सूची पनि बटुलेको थियो ।

यही प्रतिवेदनमा गिरोहले ‘दर्ता छूट’ सूची भन्दै अनधिकृत नाम थपेर मानव तस्करी गरेर अमेरिका पुर्‍याउन खोजेको हो । जसमा नक्कली भुटानी शरणार्थी बनाएर ८७५ जनालाई अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको पाइएको छ ।

यसका लागि प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म असुलिएको उजुरी प्रहरीमा परेको छ । गृह मन्त्रालयले बनाएको कार्यदलको उद्देश्य नै नक्कली भुटानी शरणार्थी खडा गरेर विदेश लैजाने देखिएको भन्दै प्रहरीले कार्यदलका सदस्यमाथि पनि अनुसन्धान गरिरहेको छ ।