पार्टी कमिटी भद्दा, ३ वटा बैठकमा नआउनेलाई हटाउने

पार्टी कमिटी भद्दा, ३ वटा बैठकमा नआउनेलाई हटाउने

कहिरन समाचार

काठमाडौं । नेकपा एमालेले पार्टी कमिटी भद्दा भएको निष्कर्ष निकाल्दै चुस्त बनाउने नीति लिएको छ । तीन दिन पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पदमा बस्न मरिहत्ते गर्ने तर जिम्मेवारी बहन नगर्ने प्रवृत्ति बढेकाले अब निस्क्रीय नेतालाई निकाल्ने निर्णय गरेको छ ।

बैठकपछि प्रवक्ता पृथ्वी सुब्बा गुरुङले निरन्तर पार्टीको ३ वटा बैठकमा अनुपस्थित हुनेलाई हटाउने निर्णय भएको जानकारी दिए । पदाधिकारीबाहेकका हटेका सदस्य नथप्ने नीति लिएको एमालेले बैठकमा आउने तर पार्टीको काममा नखटिने नेतालाई पनि बिदा गर्ने उनले बताउए ।

यस्तै बैठकले असार १५ गतेसम्म भौतिकरुपमा उपस्थित भइ सदस्यता नवीकरण गरिसक्न निर्देशन दिएको छ । जिल्ला कमिटीले नवीकरण गरिसकेपछि असार मसान्तसम्ममा प्रदेश कमिटीमा पठाउन भनिएको उनले बताए ।

एमालेले दुई महिने मिसन ग्रासरुट अभियानमा १३ हजार २३८ जना प्रवेश प्रवेश गरेको बताएको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालले १ लाख १९ हजार ९५ पार्टीको नयाँ सदस्यताका लागि आवेदन परेको दाबी गरे ।

उनले मिसन ग्रासरुट अभियान ८७५ बैठक पालिकामा र वडामा ५ हजार ५७४ बैठक बसेको पनि बताए । ०७३ सालमा मेची महाकाली अभियान चलाएको एमालेले आगामी मंसिर महिनामा मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।