एमाले बैठक: प्रदेश संरचना खारेजदेखि भ्रष्टाचारविरुद्धको अगुवा बन्न सुझाव

एमाले बैठक: प्रदेश संरचना खारेजदेखि भ्रष्टाचारविरुद्धको अगुवा बन्न सुझाव

कहिरन समाचार

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा पार्टीको ‘ग्रास रुट’ अभियानको समीक्षासँगै आगामी कार्ययोजनाबारे छलफल चलिरहेको छ ।

बिहीबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र प्रदेशगत अवस्थाको ब्रिफिङ सकिएपछि केन्द्रीय सदस्यहरूलाई आठ समूहमा विभाजन गरेर छलफल भइरहेको छ ।

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आगामी वार्षिक कार्ययोजनका लागि समूहमा नेताहरूले सुझाव दिइरहेका छन् । भोलि बिहान बस्ने स्थायी कमिटी बैठकले कार्ययोजनालाई अन्तिम रूप दिएर बैठकमा पेस गरिने उनले बताए ।

एमाले मंसिर ४ को चुनावपछि केही महिना गाउँ पसेको थियो । ग्रासरुट अभियानले ५०–६० प्रतिशत सदस्यता नवीकरण भएको नेताहरूले ब्रिफिङ गरेका छन् । ग्रास रुट अभियानले देखाएको अवस्थाअनुसार पालिकास्तरमा हुनुपर्ने सदस्यता नवीकरणलाई अझै बढाउने तयारी छ ।

एमालेले पार्टीलाई सुदृढीकरण गर्न अब पालिकासहित तल्ला कमिटीहरूको अधिवेशन गर्ने तयारी पनि गरेको छ । कमिटीमा युवाहरूलाई बढीभन्दा बढी समेटिने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । पार्टीमा युवाहरूको आकर्षण घटेको निष्कर्षसहित एमालेले युवाहरूलाई प्राथमिकता दिन खोजेको हो ।

एमालेले पार्टीको सुद्धीकरण अभियान पनि चलाउने तयारी गरेको छ । एमालेले पार्टीलाई चलायमान बनाउन ग्रास रुटजस्तै वर्षभरि नै अभियान चलाउने तयारी गरेको छ । उपनिर्वाचनको गम्भीर संकेत गरेको भन्दै चुनावलक्षित कार्यक्रम चलाउने पनि तयारी भएको एक नेता बताउँछन् ।

एमाले नेता सूर्य थापा भने उपनिर्वाचमा पार्टीले सिट गुमाएको नभएर मत घटेको निष्कर्ष निकालिएको बताउँछन् । ‘उपनिर्वाचनमा एमालेको सिट घटेको होइन, मत घटेको निष्कर्ष निकालेका छौँ । अध्यक्षको प्रतिवेदनमा पनि त्यही छ,’ उनले भने ।

प्रचार विभाग उपप्रमुख रिजाल समूहगत छलफलमा पार्टीलाई जनजीविकासँग जोड्ने विषयमा सुझाव आएको बताए । ‘हाम्रो पार्टी अहिले पनि नीतिहरूमा सहि छ । नेतृत्वमा सही छ । संगठन पनि अरूभन्दा मजबुत छन् । तर पनि पार्टीलाई बहुमतप्राप्त पहिलो पार्टीका रूपमा कसरी विकास गर्ने । जनजीवीकाका सवालमा कसरी जोड्ने भन्नेमा सुझाव आएको छ,’ उनले भने ।

समूहगत छलफलका क्रममा पार्टीलाई भ्रष्टाचारविरुद्धको अगुवा बनाउनुपर्ने सुझाव आएको थापाले जानकारी दिए । ‘पार्टीलाई भ्रष्टाचारविरुद्धको अभियानको अगुवा कसरी बनाउने ? उत्पादनसँग कसरी जोड्ने ?, रोजगारीका अवसरहरू कसरी सिर्जना गर्ने, देशभित्रै रोजगारीका कसरी अवसर सिर्जना गर्ने भन्नेमा छलफल भयो,’ उनले भने ।

बैठकमा पार्टीका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले संघीयता पुनरवलोकन गर्नुपर्ने सुझाएका छन् । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रणाली लागु गर्नुपर्ने बस्नेतको भनाइ छ ।

‘संघीयताको पुनरवलोकन गरौँ । शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित सरकार प्रमुख बनाऔँ । निर्वाचन कम खर्चिलो बनाऔँ,’ उनले भनेका छन्, ‘राजनीतिक स्थिरताका लागि दुई दलीय व्यवस्था अथवा ५ प्रतिशत थ्रेस होल्ड राखौँ ।’

उनले दुई कार्यकाल प्रधानमन्त्री, तीन कार्यकाल मन्त्री र चार कार्यकालभन्दा बढी सांसद बन्न नपाउने व्यवस्था गर्न सुझाएका छन् । पार्टीको केन्द्र र प्रदेश कमिटीमा २५ प्रतिशत र जिल्ला र स्थानीय तहमा ३५ प्रतिशत ४० वर्षमुनिका युवाहरू समेट्नुपर्ने उनको भनाइ छ ।