प्रधानमन्त्री भ्रष्ट जोगाउने र एमाले फसाउने खेलमा छन् : ओली

प्रधानमन्त्री भ्रष्ट जोगाउने र एमाले फसाउने खेलमा छन् : ओली

कहिरन समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले नै भ्रष्टाचारीलाई जोगाइरहेको आरोप लगाएका छन् ।

राष्ट्रिय युवा संघको केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणलाई लक्षित गर्दै उनले कसैलाई जोगाउने र कसैलाई खेदीखेदी हतकडी लगाउने कुरा सह्य नहुने बताएका हुन् ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमालेले भ्रष्टाचारलाई समर्थन नगर्ने बताए । ‘भ्रष्टाचार एमालेले सहँदैन । तर एमालेविरुद्ध यसलाई पनि तान उसलाई पनि तान भनेर निर्देशन दिन्छ भने, कसैलाई खेदीखेदी हतकडी लगाउने र कसैलाई सोधपुछ नै नगर्ने भन्ने स्वीकार्य हुँदैन’, अध्यक्ष ओलीले भने ।

उनले भने, ‘मैले भ्रष्टहरु नजोगिउन् भनेँ । यसको अर्थ छ । उहाँ भ्रष्टहरुलाई जोगाउने र अनावश्यक मानिसलाई पोल्ने लगाउने काम गरिरहनु भएको छ । मैले समयमै प्रधानमन्त्रीलाई भनेक छु निर्दोषलाई फसाउने कोसिस नहोस् कोही पनि भ्रष्ट नजोगिउन् ।’ एमालेतर्फ लक्षित गर्ने दुस्साहास कसैले गर्छ भने त्यसको जवाफ आफूहरुले दिने पनि उनको चेतावनी थियो ।

नक्कली शरणार्थी काण्डमा एमाले सचिव टोपबहादुर रायमाझीसहितका नेताहरु मुछिएपछि अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया आएको हो । उक्त प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी भने फरार रहेका छन् ।