ढाकाकुमारको पक्षमा अल्पकालीन आदेश, विन्दाबासिनीलाई सांसदको प्रमाणपत्र

ढाकाकुमारको पक्षमा अल्पकालीन आदेश, विन्दाबासिनीलाई सांसदको प्रमाणपत्र

कहिरन समाचार

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठमाथिको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश तिलकुमार श्रेष्ठको एकल इजलासले सोमबार श्रेष्ठको रिटमा सुनुवाई गर्दै तत्काल कार्बाही नगर्न र कारबाही गर्नुको कारण पेश गर्न भनेको हो । यो मुद्दामा सर्वोच्चले अन्तरिम आदेशका लागि श्रेष्ठ र रास्वपा दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

ब्यबसायी दुर्गा प्रसाँईसंग दुई करोड रूपैयाँ मागेको अडियो बाहिरिएपछि रास्वपाले श्रेष्ठलाई सांसदबाट पदमुक्त गर्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो । सांसद पद गुमेपछि आफूमाथि अन्याय भएको भन्दै श्रेष्ठले हिजो सर्वोच्चमा रिट दायर गरेका थिए ।

यता रास्वपाबाट ढाकाकुमारको ठाउँमा विन्दाबासिनी कंसाकार प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन् । रास्वपाले गरेको पत्राचार अनुसार निर्वाचन आयोगले कंसाकारलाई सांसद बनाएको हो । निर्वाचन आयोगबाट कंसाकारले आइतबार सांसद भएको प्रमाणपत्र समेत बुझिसकेकी छन् ।

आयोगले कंसाकार सांसद निर्वाचित भएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयलाई पठाएको निर्वाचन आयोग राजनीतिक दल व्यवस्थापन शाखा प्रमुख गुरुप्रसाद वाग्लेले जानकारी दिए ।