अनियमितता र भ्रष्टाचारको फाइल खोल्न सांसदको माग

अनियमितता र भ्रष्टाचारको फाइल खोल्न सांसदको माग

कहिरन समाचार

काठमाडौ । सघिय संसदको बजेट अधिवेशनको पहिलो बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरण, भ्रष्टाचार काण्ड र अनियमितताको बिषय प्राथमिकताका साथ उठेको छ ।

संसदको आइतबारको बैठकमा सांसदहरुले जुनसुकै क्षेत्रमा भएको अनियमितता र भ्रष्टाचारको फाइल खोल्न माग गरेका छन् । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले अहिलेसम्म भएका सबै भ्रष्टाचार र अनियमितताको छानबिन गर्नुपर्ने बताए ।

गिरीले भने, ‘प्रधानमन्त्रीज्यू तपाईंले फिलिम देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौं । फिलिम देखाउनूस् । वाइडबडी घोटला, बाँसबारी जग्गा घोटला, बालमन्दिर घोटला काण्ड, मातातिर्थ जग्गा घोटला काण्ड, यति, ओम्नि काण्ड, लडाकू शिविरका घोटला काण्ड, बजेटमा विचौलिया र सिसिटिभी फुटेज लगायत तमाम काण्डको छानविन गर्रौ ।’

यता माओवादी सांसद माधव सापकोटाले प्रमुख प्रतिपक्षीले संसद् कब्जा गर्ने उद्देश्यले विषयान्तर गरिरहेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीसमक्ष बुझाउन आग्रह गरे ।

यस्तै, सांसद प्रेम सुवालले तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने निर्णय भएको बताए । ८ सय ७५ जनाबाट १५ देखि ५० लाखसम्म उठाएर अर्बौं रकम ठगी गर्ने को हुन् ? भन्ने प्रश्न उनको थियो ।

सांसद अमरेशकुमार सिंहले २०६३ पछि सर्वदलीय भ्रष्टाचारको नमुना नेपाल भएको बताए । ‘कर्मचारी फसाउने राजनीतिक नेतृत्व जोगिने’ गलत प्रवृत्ति अगाडि बढेको सिंहको भनाइ थियो । मिलिजुली गरेर राजनीतिक व्यक्तिलाई उम्काउने कुरा जनता स्वीकार नगर्ने भन्दै २०६३ यताका ठूला भ्रष्टाचारको उच्च स्तरीयमा छानबिन समिति गठन गर्नुपर्ने बताए ।

राप्रपा सांसद ज्ञानबहादुर शाहीले नक्कली भुटानी शरणार्थी बनाउने घटनामा संलग्नलाई कारबाही गर्न माग गरे । सांसद प्रदीप यादवले तत्काल नागरिकता विधेयक जारी गर्न माग गरे । सांसद रघुजी पन्तले नागरिकता विधेयक वर्तमान राष्ट्रपतिबाट जारी गर्ने विषय कानुनसम्मत नभएको बताए ।

यसैगरी, सांसद सुनील शर्माले भुटानी शरणार्थीका विषयमा पक्राउ परेकालाई संसदमा ल्याएर बयान दिलाउन सभामुखको ध्यानाकर्षण गराए । सांसद सरिता प्रसाईंले भ्रष्टाचारीलाई कुनै पनि पार्टीले संरक्षण गर्न नहुने बताइन् ।

यस्तै सांसद आरजु राणाले आफ्नो चरित्रहत्या गर्ने अभिप्रायले विभिन्न टीकाटिप्पणी भइरहेको जिकिर गरिन् । उनले सबै नेता र सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै आफूहरू त्यसका निम्ति तयार रहेको बताइन् ।

रास्वपाका सांसद हरि ढकालले विगत ३३ वर्षमा भएको भ्रष्टाचारसम्बन्धी घटनाको आयोग बनाएर छानबिन हुनुपर्ने बताए । सांसद मेटमणि चौधरीले तत्कालीन गृहसचिव, मन्त्री र उच्च पदस्थ अधिकारी यो प्रकरणमा संलग्न रहेको खुल्दै गएकाले यसमा संलग्न तत्कालीन सरकार प्रमुखलाई समेत कारबाही गर्नुपर्ने माग गरे ।

संघीय संसद्को बजेट अधिवेशनको पहिलो बैठक आइतबार ४ बजेबाट सुरु भएको हो । पहिलो बैठकमा नै सांसदहरूले भ्रष्टाचार तथा संगठित ठगीको विषय उठाएका हुन् ।