माओवादीको व्यवहारले दु:खी छौं : माधव नेपाल

माओवादीको व्यवहारले दु:खी छौं : माधव नेपाल

कहिरन समाचार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रले आफूलाई बेवास्ता गरेको गुनासो गरेका छन् । कर्णाली प्रदेशमा सरकार गठन गर्दा आफूलाई महत्त्व नदिइएको भन्दै उनले दुखेसो पोखेका हुन् ।

बुधबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्रको दम्भले गठबन्धन नै संकटमा पर्ने संकेत गरे । नेपालले भने, ‘हामी गठबन्धन टिकाउँछौं भनिरहेका छौं । टिकाउने खुबी र हिस्सेदारी हामीसँग छ, तर हामीलाई पीडा दिने खालको व्यवहार भइरहेको छ । माओवादीको व्यवहारले मर्माहत छौं ।’

कर्णालीमा आफ्नो पार्टीलाइ पुरै बेवास्ता गरिएको उल्लेख गर्दै अध्यक्ष नेपालले एकलौटी गर्न खोजिएको बताए । उनले थपे, ‘यहाँ माओवादीको दम्भ र घमण्डले हाम्रा साथीहरु दु:खी हुनुहुन्छ ।’

केन्द्रमा गठबन्धन टिकाउन प्रदेशमा पनि समेटेर जानुपर्ने दायित्व उक्त पार्टीको हुने उनले बताएका छन् । माओवादी केन्द्रको उक्त कदम निन्दनीय भएको बताउँदै यस्तै व्यवहार जारी रहे गठबन्धन टिक्ने कुरामै आशंका उत्पन्न हुने उनको भनाइ छ ।