प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

कहिरन समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटर्वाता भएको छ ।

आइतबार बिहान वैशाख १० को उपनिर्वाचनपछि चितवन–२ बाट निर्वाचित भएका लामिछाने पहिलोपटक प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

भेटमा प्रधानमन्त्री दाहालले लामिछानेलाई बधाई दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

निर्वाचित भएर आएसँगै उनले सरकारमा सहभागी हुने नहुने विषयमा पार्टीभित्र र बाहिर छलफल तीव्र बनाएका छन् । उनले सरकारमा जाने सम्भावना नरहेको बताउँदै आइरहे पनि प्रधानमन्त्री प्रचण्ड भने रास्वपालाई पनि सरकारमा सहभागी गराउने मनस्थितिमा रहेका छन् ।

यस्तै रास्वपाको केन्द्रीय समितिको बैठक आइतबार नै बस्दैछ । केन्द्रीय समितिको बैठक ११ बजे र संसदीय दलको बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

आइतबारको बैठकले लामिछानेलाई संसदीय दलको नेता चुन्दैछ । शनिबार संसदीय दलका नेता डोलप्रसाद अर्यालले राजीनामा दिएका थिए । बैठकमा सरकारमा सहभागी हुने/नहुनेबारे पनि छलफल हुने बताइएको छ ।