पूर्व लडाकुलाई पैसा होइन रोजगारी देऊ : शेखर कोइराला

पूर्व लडाकुलाई पैसा होइन रोजगारी देऊ : शेखर कोइराला

कहिरन समाचार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार हुनै नसक्ने बताएका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमा ‘स्टाटस’ लेख्दै उनले सरकारी कर्मचारीलाई तलब खुवाउन र पूर्व शिक्षकलाई पेन्सन दिन समेत नसक्ने अवस्था भएका वेला पूर्वलडाकुको नाममा पैसा बाँड्ने काम गलत भएको बताएका हुन् ।

माओवादीले विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाबकिताब बुझाउन नससकेको भन्दै उनले सरकारको यस्तो कार्यको विरोध गर्न उनले आग्रह गरेका छन् । ‘उनीहरूलाई पैसा होइन रोजगारी दिऊँ’, उनले लेखेका छन्।

गत ६ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिने कार्यविधि पास गरेको थियो । कार्यविधिअनुसार पहिलो चरणमा अयोग्य लडाकु पहिचान गरिनेछ। लडाकु पहिचान गर्ने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिइनेछ । जिल्ला प्रशासनले पहिचान भएका लडाकुको विवरण गृह मन्त्रालयमा पठाउनेछ ।

यही विवरणअनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आयोग्य लडाकुलाई दुई–दुई लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउनेछ ।