उपनिर्वाचनको तयारी सकियो, बिहान ७ बजेदेखि मतदान हुने

उपनिर्वाचनको तयारी सकियो, बिहान ७ बजेदेखि मतदान हुने

कहिरन समाचार

काठमाडौं । निर्वाचन आयोगले भोलि आइतबार तीन क्षेत्रमा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आयोगले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आफूले छानेका उम्मेदवारलाई ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल पनि गरेको छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ ।

आयोगले मतदानका दिन सम्बन्धित जिल्लामा आवागमन र सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनले तोकेबमोजिम हुने गरी गर्न निर्देशन दिएको छ ।

मतदानका समयमा मौसमी प्रतिकूलताबाट हुन सक्ने प्रभावको पूर्व तयारीका लागि त्रिपाल लगायतका सामग्रीको बन्दोबस्त गर्न स्थानीय प्रशासन तथा स्थानीय तहलाई आवश्यक निर्देशन दिई सकिएको जनाएको छ ।

निर्वाचन आयोग, निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिन दृढ संकल्पित रहेको सहायक प्रवक्ता उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने कार्यमा सबैको सकारात्मक सहयोग र इमानदार प्रयत्न हुनेछ भन्ने विश्वास आयोगले व्यक्त गरेको छ ।

आइतबार तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ ।