मिटरब्याज पीडितको माग सम्बोधन नभए सडक संघर्षमा जाने लिङ्देनले चेतावनी

मिटरब्याज पीडितको माग सम्बोधन नभए सडक संघर्षमा जाने लिङ्देनले चेतावनी

कहिरन समाचार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकार विरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन् ।

मंगलबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले मिटरब्याज पीडितहरुको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरूमाथि हिजो (सोमबार) निर्मम ढंगले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भत्सर्ना समेत गरे ।

गरिब र निमुखा ती मानिसहरूमाथि किन बर्बर आक्रमण गर्नु परेको भनि सरकारलाई अध्यक्ष लिङ्देनले प्रश्न समेत गरे । उनले सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिँडेको पार्टी नेतृत्वको सरकारले पनि उनीहरूमाथि आक्रमण गर्ने काम गर्नु आपत्तिजनक रहेको बताए ।

‘देशमा कसैले पनि अन्यायमा पर्नु पर्दैन । कसैले पनि हेपिनु पर्दैन । राज्य छ भनेर राज्य अभिभावकको रुपमा उभिनुपर्नेमा न्यायको माग गर्दै आएका मिटरब्याज पीडितहरुलाई सरकारले हिजो जुन निर्मम ढंगले आक्रमण गरेको छ । त्यसको म निन्दा र भर्त्सना गर्न चाहन्छु । उनले भने, ‘सरकारले मिटरब्याज पीडितहरु र अहिले तराईमा आन्दोलनरत रहेका हरुवाचरुवाहरु जो पुनस्थापनाको काम गरिराखेका छन् । उनीहरूको मागलाई सरकारले समयमै सम्बोधन गरोस् । अन्यथा एउटा जिम्मेवार राजनीतिक पार्टीको नाताले उनीहरूको साथमा सडक संघर्षमा जाने घोषणा समेत गर्न चाहन्छु ।’

अध्यक्ष लिङ्देनले पीडित पक्षको अभिभावकीय भूमिकामा सरकार नरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।