प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तीन दलको सहमति

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तीन दलको सहमति

कहिरन समाचार

 

काठमाडौं । प्रमुख तीन दलका बैठकबीच संवैधानिक परिषद्सम्बन्धी बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

सोमबार एमाले अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बसेको तीन दलको बैठकले तत्कालै संवैधानिक परिषद्को बैठक बोलाउने सहमति गरेको हो ।

बैठकमा लामो समयदेखि न्यायालयको नेतृत्व प्रधानन्यायधीश कामुका भरमा चलेकाले स्थायी नियुक्तिका लागि उक्त बैठकमार्फत टुंगो लगाउने सहमति भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको विषयमा प्रधानमन्त्रीजीले स्थायी नियुक्तिका लागि संवैधानिक बैठक बोलाउन पहल गर्नुभयो । प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक डाक्ने र उक्त बैठकबाट प्रधानन्याधीश नियुक्तिको विषय टुंगो लगाउने सहमति भयो,’ लेखकले भने ।

साथै बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पनि छलफल गरेर अगाडि बढ्ने सहमति भएको छ । संसदीय समितिलाई पूर्णता दिन पनि तीन दल सहमत भएको लेखकले बताए ।