सरकारको न्यूनतम साझा कार्यक्रममा जनमोर्चाको असहमति

सरकारको न्यूनतम साझा कार्यक्रममा जनमोर्चाको असहमति

कहिरन समाचार

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा आफ्नो डिजिटल हस्ताक्षर राखिएकोमा असहमति जनाएका छन् ।

एक विज्ञप्ति जारी गर्दै अध्यक्ष केसीले सरकारले बिहीबार ल्याएको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय तथा नागरिकताका लगायतका विषयमा हाम्रो पार्टीका कैयौँ गम्भीर प्रकारका मतभेदहरू रहेको बताए ।

जारी विज्ञप्तिमा अध्यक्ष केसीले, ‘विगत पाँच दलीय गठबन्धनको सरकार गठनको क्रममा पनि जारी गरिएको न्यूनतम साझा कार्यक्रमप्रति हामीले त्यही नीति अपनाएका थियौँ । पाँच दलीय सरकारद्वारा जारी गरिएको न्यूनतम साझा कार्यक्रममा हामीले हस्ताक्षर गरेका थिएनौँ । अहिले पनि हाम्रो त्यो नीति कायम नै छ’, भने ।

‘प्रधानमन्त्री कार्यालयबाट अध्यक्ष चित्रबहादुर केसीको डिजिटल हस्ताक्षर कता राखिएको भन्ने सन्दर्भमा प्रधानमन्त्री र अध्यक्ष चित्रबहादुर केसीबीच सम्वाद भएको सत्य हो । तर त्यो हस्ताक्षर न्यूनतम साझा कार्यक्रमलाई स्वीकृत गर्न उपयोग गर्ने सवालमा भएको होइन । त्यसैले अध्यक्ष का। चित्रबहादुर केसीको हस्ताक्षर भ्रमवश नै न्यूनतम साझा कार्यक्रममा परेको कुरा सम्बद्ध सबैलाई जानकारी गराउँदछु’, विज्ञप्तिमा भनिएको छ ।

सरकारले हिजो मात्रै गठबन्धनमा आवद्ध सबै दलहरूको सहमतिमा भन्दै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।