उपनिर्वाचनको आचारसंहिता आजदेखि लागू

उपनिर्वाचनको आचारसंहिता आजदेखि लागू

कहिरन समाचार

काठमाडौं । आगामी वैशाख १० गते तनहुँ-१, चितवन-१ र बारा-२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ ।

निर्वाचन सम्पन्न नभएसम्म चैत २४ गतेदेखि चितवन, बारा र तनहुँ जिल्लाभर निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आचारसंहिता संघीय सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेशका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र पदाधिकारी, स्थानीय कार्यपालिका र सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारीलाई लाग्ने आयोगले जनाएको छ ।

यस्तै‚ सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलका भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारका मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी लगायतले आचारसंहिता पालना गर्नुपर्ने छ ।