जनताले हर्न छापमै भोट हाल्छन् : अध्यक्ष राउत

जनताले हर्न छापमै भोट हाल्छन् : अध्यक्ष राउत

कहिरन समाचार

जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ मा आफ्नो दलको सङ्गठन बलियो नभए पनि जनताको मत प्राप्त गर्ने दाबी गरेका छन् । बारा निर्वाचन क्षेत्र नं २ मा बैशाख १० गते हुने उपनिर्वाचनको घरदैलो कार्यक्रममा बोल्दै राउतले सङ्गठन बलियो नभए पनि जनताको माया आफ्नो पार्टीमा रहेको बताए ।

‘चुनावमा सङ्गठन बलियो होइन जनताको माया चाहिन्छ, सद्भाव चाहिन्छ, न्यायको पक्षमा हुनुपर्छ, सङ्गठन भनेर मासु र भात खुवाएर भोट खरिद गर्ने होइन’ अध्यक्ष राउतले भने ‘जसपाको मासु भात खाए पनि जनताले भोट हर्न छापमै हाल्छन् ।’

बारा २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई जिताउन जनता आफैँ सडकमा उत्रिएको राउतले बताए ।

‘सप्तरी २ मा दोब्बर मतान्तरले पराजित भएका उपेन्द्र यादवलाई बारा २ मा त्यो भन्दा पनि बढी मतले हामी पराजित गर्छौ’ राउतले भने ‘हाम्रो चुनावी एजेन्डा भनेको जनतालाई शिक्षा, स्वास्थ्य रोजगारीमा उन्नति गर्ने र किसान आन्दोलनका मुद्दाहरू सम्बोधन गर्ने हो’ ।

अध्यक्ष  राउतले निर्वाचन अवधिभर आफू बारा २ मै बस्ने बताएका छन् । उनले बारा जिल्लावासी र यहाँका नेता कार्यकर्ताको राजनीतिक अधिकार खोस्ने षडयन्त्र भएको बताएका छन् ।