विष्णु पौडेल : प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद बिस्तार पनि गर्न सक्नुभएन

विष्णु पौडेल : प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद बिस्तार पनि गर्न सक्नुभएन

कहिरन समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट दोस्रो पटक विश्वासको मत लिए पनि मन्त्रिपरिषद बिस्तार गर्न नसकेको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन्।

सुर्खेतमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले विश्वासको मत दिएको धेरै दिन भइसक्दा पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद बिस्तार गर्न नसकेको बताए। गत चैत ६ मा प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए।

‘प्रधानमन्त्रीले दोस्रो पटक विश्वासको मत त पाउनुभयो तर आजसम्म मन्त्रिपरिषद बिस्तार गर्न सक्नुभएको छैन,’ उनले भने, ‘हामी सुन्दैछौं- ठूलो संख्यामा उपप्रधानमन्त्री दाबी भइरहेको छ। यति सिट, उति सिटका दाबी भनेर आइरहेका छन्।’

उनले सत्ता गठबन्धनको तमासा जनताले हेरिरहेको पनि बताए।

‘सरकार बिस्तार गर्न नपाउँदै प्रधानमन्त्री चर्को समस्यामा पर्नुभएको छ,’ उनले भने, ‘सरकारलाई आर्थिक क्षेत्रमा देखिएका समस्या र जनताका समस्या समाधानमा ध्यान छैन। पद र जिम्मेवारीमा मात्रै गठबन्धनको ध्यान छ। जनता र हामी यो गठबन्धनको तमासा हेरिरहेका छौं।’

गत पुस १० को गठबन्धन तोडेर प्रधानमन्त्री अर्को गठबन्धनमा गएको उनले बताए। ‘हामीलाई उहाँले धोका दिएर जानुभयो,’ उनले भने, ‘यो प्रतिनिधि सभाबाट राजनीतिक स्थायित्व सम्भव छैन। यो सरकारले समृद्धि पनि दिन सक्दैन।’

उनले अहिलेको गठबन्धन देशभित्रका राजनीतिक दलले मात्र नभई विदेशीको अबान्छित हस्तक्षेपका बीच बनेको आरोपसमेत लगाएका छन्।