उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगले दियो समय

उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगले दियो समय

कहिरन समाचार

निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने राजनीतिक दललाई आयोगमा दर्ता हुनका लागि समय दिएको छ।

आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म दल दर्ता गराइसक्न भनेको छ।

तनहुँ १ र बारा २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिन चाहने दलले आयोगमा दर्ता गर्नुपर्ने हुन्छ।

यसअघि आयोगले चितवन २ मा हुने उपनिर्वाचनमा भाग लिने दलहरूलाई दर्ताका लागि समय दिएको थियो।

आयोगले चितवन २, बारा २ र तनहुँ १ मा २०८०  वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरिदिएको थियो।

बारा २ मा निर्वाचित तत्कालीन जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिएका थिए।

यस्तै तनहुँ १ बाट निर्वाचित तत्कालीन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि उनले पनि सांसदबाट राजीनामा दिएका थिए।

रिक्त रहेका ३ प्रतिनिधि सभा सदस्य चयनका लागि वैशाख १० मा एकैदिन उपनिर्वाचन गर्न लागिएको हो।