नियुक्तिको साढे दुई महिनामै दोस्रो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री

नियुक्तिको साढे दुई महिनामै दोस्रो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री

कहिरन समाचार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने भएका छन् । संघीय संसद सचिवालयलाई बिहीबार पत्र पठाउँदै चैत ६ गते विश्वासको मत लिने प्रस्ताव पेश गर्ने भएका भएका हुन् ।

संसद्का प्रवक्ता एकराम गिरीले चैत ६ गते विश्वासको मत लिनका लागि बिहीबार प्रधानमन्त्रीको पत्र आएको जानकारी दिए ।

सरकारलाई समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले छोटो अवधिमै दोस्रो पटक संसद्बाट विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा सहभागी भएको राप्रपाको समर्थन फिर्ताको मितिले चैत १२ गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक समयसीमा प्रधानमन्त्रीसँग छ । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले पहिलो पटक पुस २६ मा विश्वासको मत लिएका थिए ।

संविधानको धारा १००(२) अनुसार प्रधानमन्त्रीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । उक्त धारामा भनिएको छ, ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नु पर्नेछ ।’

२७५ सदस्यीय प्रतिनिधि सभाको बहुमतले प्रधानमन्त्रीले विश्वासको मत पाउने छन् । वर्तमान गठबन्धनको मतअनुसार प्रधानमन्त्रीलाई बहुमतका लागि सहज अवस्था छ ।

विश्वासको मतका लागि प्रधानमन्त्रीलाई १३८ सांसद आवश्यक पर्नेछ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको प्रतिनिधि सभामा ३२ सिट छ । यस्तै कांग्रेसको ८९ सिट भए पनि एकको मताधिकार छैन । राष्ट्रिय स्वतन्त्र पार्टीको २०, एकीकृत समाजवादीको १०, जसपा १२, एकीकृत समाजवादी १०, जनमत पार्टी छ, नागरिक उन्मुक्तिको तीन सिट छ । यस्तै जनमोर्चाको एक सिट छ ।