नवनिर्वाचित राष्ट्रपति पौडेलले भोली पदभार ग्रहण गर्ने

नवनिर्वाचित राष्ट्रपति पौडेलले भोली पदभार ग्रहण गर्ने

कहिरन समाचार

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोली पदभार ग्रहण गर्ने भएका छन् । शपथका लागि भोली दिउँसो १ बजे विशेष समारोहको आयोजना गरिएको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

नवनिर्वाचित राष्ट्रपति पौडललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गरानेछन् । नयाँ राष्ट्रपतिले कार्याभार सम्हाल्नुअघि भोलि नै राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट निजी निवास सर्र्ने भएकी छन् । बुढानिलकण्ठ–२ चपलीमा रहेको भण्डारीको निजी निवासलाई सरकारले मर्मतसम्हार गरिसकेको छ ।

राष्ट्रपति भण्डारीको तेस्रो राष्ट्रपतिका रुपमा पाँच वर्षे कार्यकाल आज राति १२ बजेबाट सकिन लागेको छ । भण्डारी २०७२ कात्तिक ११ गते पहिलोपटक र २०७४ फागुन २९ गते दोस्रो पटक राष्ट्रपति पदमा निर्वाचित भएकी हुन् ।

राष्ट्रपतिका रुपमा ७ वर्षभन्दा बढी जिम्मेवारी सम्हालेकी भण्डारी आफ्नो दोस्रो कार्यकालमा संवैधानिक सीमाभन्दा माथि रहेर सक्रिय बन्दा विवादित बनेकी सथएन् ।

२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई साथ दिएको, त्यसलगत्तै २०७८ मा पनि ओलीलाई दोस्रो पटक संसद विघटनमा साथ दिएको, त्यसअघि तत्कालीन नेकपाभित्रको विवाद मिलाउन सक्रिय बनेको जस्ता आरोप भण्डारीमाथि लागेका छन् ।

यस्तै शेरबहादुर देउवा नेतृत्वको सरकारका अध्यादेशहरु रोकिदिएको, संघीय संसदबाट दुई–दुई पटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर अलपत्र पारिदिएको, राजनीतिक पक्षधरता देखाएको जस्ता आरोप भण्डारीमाथि लागेका छन् ।