रामसहाय यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने जसपाको निर्णय

रामसहाय यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने जसपाको निर्णय

कहिरन समाचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादवले समितिको बैठकबाट यादवलाई उपराष्ट्रपतिको उम्मेदवारमा सर्वसम्मत निर्णय गरेको बताए । “कार्यकारिणी समितिको बैठकले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ” अध्यक्ष यादवले भने ।

नौ दलीय गठबन्धनले राष्ट्रपतिमा नेपाली कांग्रेस र उपराष्ट्रपतिमा जसपालाई समर्थन गर्ने निर्णय गरेको थियो । कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल बिहीबार नै राष्ट्रपति निर्वाचित भइसकेका छन् ।

गठबन्धनको सहमतिकै आधारमा जसपाले उपराष्ट्रपतिको उम्मेदवार चयन गरेको अध्यक्ष यादवको भनाइ छ ।

यादव गत मंसीर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा बारा–२ बाट निर्वाचित भएका थिए ।