राष्ट्रपति निर्वाचन: दलहरु आन्तरिक रणनीतिमा

राष्ट्रपति निर्वाचन: दलहरु आन्तरिक रणनीतिमा

कहिरन समाचार

काठमाडौँ । भोलि हुने राष्ट्रपति निर्वाचनका लागि दलहरु आन्तरिक रणनीति बनाउन व्यस्त छन् । आठ दलीय गठबन्धनले मतदाता सांसदहरुलाई आज विहान ११ बजेसम्म काठमाडौं आइसक्न निर्देशन दिएको छ ।

गठबन्धन दलले मतदाता सांसदहरुलाई काठमाडौं आइसकेपछि मतदानको तरिकाबारे आन्तरिक प्रशिक्षण दिने निर्णय गरिसकेको छ । यता, आज गर्ने भनिएको गठबन्धनका संघीय सांसद र प्रदेशसभा सदस्यहरुको संयुक्त भेला भने मौन अवधि चलिरहेकाले स्थगित गरिएको गठबन्धन कार्यदलका संयोजक एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । गठबन्धनले आफ्ना साझा उम्मेदवार पूर्वसभामुख रामचन्द्र पौडेललाई विजयी गराउन यसअघि केन्द्र र सबै प्रदेशमा अभिुमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । एमाले अहिलेसम्म एक्लै देखिएको छ । एमालेलाई मतदान गर्न सक्ने ठानिएका राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म कित्ता क्लिएर गरेका छैनन् ।

दुई मतदान केन्द्र निर्माण
निर्वाचन आयोगको तालिका अनुसार भोलि विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनलाई नै मतदान केन्द्र तोकिएको छ । निर्वाचनका लागि संसद भवनको ल्होत्से हलमा दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिए ।

निर्वाचनमा संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य तथा सातै प्रदेशसभा सदस्यले मतदान गर्नेछन् । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्ला–बेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो । मतदान सकिएपछि मतगणना सुरु गरिने आयोगले जनाएको छ ।