राष्ट्रपतिका उम्मेदवारद्वय पौडेल र नेम्वाङ भोट माग्न व्यस्त

राष्ट्रपतिका उम्मेदवारद्वय पौडेल र नेम्वाङ भोट माग्न व्यस्त

कहिरन समाचार

काठमाडौं । राष्ट्रपति चयनका लागि फागुन २५ गते मतदान हुँदैछ । मतदान हुने ४८ घण्टा अगाडि आजराति १२ बजेदेखि प्रचारप्रसार निषेध गरिएको छ ।

निर्वाचन आयोगले कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाइने जनाएको छ । एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ ।

देशको तेस्रो राष्ट्रपति चयन गर्न फागुन २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । आयोगले निर्वाचक मण्डलका सदस्यहरुलाई मतदानमा सहभागी भएर मत दिन अनुरोध गरेको छ । संघीय संसद र प्रदेश सभाका सदस्यले राष्ट्रपति चुनावमा मतदान गर्नेछन् ।

राष्टपतिको चुनावी मैदानमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्र्पधामा छन् । निर्वाचनको प्रचारप्रसारमा निषेध अवधि सुरु हुनु अघि राष्ट्रपतिका उम्मेदवार पौडेल र नेम्वाङ भोट माग्न व्यस्त भएका छन् । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित पौडेल र नेम्वाङलाई राष्ट्रपतिमा निर्वाचित गराउन दलहरुले छलफल तिब्र बनाएका छन् । पुस १० को गठबन्धन भत्काएर अर्को गठबन्धन बनाएको कांग्रेसले आठ दलको समर्थन पाएको छ । कांग्रेससहितको गठबन्धन भत्काउने प्रयासमा लागेको एमालेले पनि नेम्वाङलाई निर्वाचित गराउन छलफल जारी राखेको छ ।

राष्ट्रपतिका दुवै उम्मेदवारले प्रतिनिधिसभामा १४ र प्रदेश सभामा २८ सांसद भएको राप्रपा र प्रतिनिधिसभामा २० सांसद भएको राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि भोट मागेका छन् । राजसंस्थाको वकालत गर्ने राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा भाग लिन हुने नहुने विवाद छ ।

नेम्वाङले बिहीबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराही पुगेर अध्यक्ष राजेन्द्र लिङ्देनसँग मत माग्नु भएको थियो भने आज पौडेलले भोट माग्नु भएको छ । कांग्रेस नेताहरु आज राप्रपाको कार्यालयमा पुगेर भोट माग्दा एमाले नेताहरुले भने कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर भोट मागेका छन् ।