सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

कहिरन समाचार

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । प्रदेश सभाको फागुन २१ गतेको बैठकमा चार पार्टी र एक जना स्वतन्त्र सांसदले मत दिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन् ।

नेपाली कांग्रेसबाट अल्पमतको सरकार बनाएका शाहलाई नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् ।

प्रदेश सभाको बैठकमा सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहको विश्वासको मतको पक्षमा बहुमत पुगेको घोषणा गरे । ५३ सदस्यीय प्रदेश सभामा शाहले ४१ मत पाएका छन् ।

उनलाई कांग्रेसका १९, माओवादीका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार र स्वतन्त्र सांसद तारादत्त जोशीले विश्वासको मत दिएका हुन् । विश्वासको मतको प्रस्तावको विपक्षमा ११ मत परे । विपक्षमा नेकपा एमालेका १० र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसदले मत दिए ।