माओवादी आन्दोलनका सबै धार एक ठाउँमा केन्द्रित हुने समय आयो : प्रचण्ड

माओवादी आन्दोलनका सबै धार एक ठाउँमा केन्द्रित हुने समय आयो : प्रचण्ड

कहिरन समाचार

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनका सबै धारलाई एक ठाउँमा आउन आह्वान गरेका छन् । ‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशन’ले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले जनयुद्ध र मुलुकको परिवर्तनपछि आफू लगायत माओवादी घटकहरु राष्ट्रिय अन्तर्राष्ट्रिय घेराबन्दीमा परेको भन्दै अव एक ठाउँमा केन्द्रित हुने समय आएको बताए ।

जनयुद्धका पक्षधरहरु एकै ठाउँमा आउन सके कुनै शक्तिले कमजोर बनाउन नसक्ने अध्यक्ष दाहालको जिकिर गरे । उनले वर्तमान सरकारले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिएको तथा सहिद घोषणाका लागि राजपत्रमा सूचना प्रकाशित गर्नेलगायत निर्णय गरेपछि केहिलाई सह्य नभएको उल्लेख गरे ।

सोही कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास भइरहेकाले एकता गर्न नसके पनि कार्यगत एकता जरुरी रहेको बताए । एउटा बहालवाला प्रधानमन्त्रीलाई तीन वर्षअघिको भाषणलाई दिएर मुद्दा लगाएर निहुँ खोज्ने काम भएको भन्दै उनले अव एकतामा जादा माओवादी शब्द राख्न आवश्यक नरहेको पनि बताए ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पचण्डविरुद्ध मुद्दा दर्ता गर्दासमेत माओवादीहरु किन नबोलेको भन्दै प्रश्न गरे । माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको बताउँदै उनले माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिएका छन् ।