संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै

कहिरन समाचार

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। दुवै सदनको बैठक दिउँसो १ बजेबाट शुरू हुनेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद प्रदिप गिरिको शोक प्रस्ताव पारित गर्नेछ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी र राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा गिरिप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै शोक प्रस्ताव पारित गर्ने उल्लेख गरिएको छ।

गिरि २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट पहिलो पटक सांसदमा निर्वाचित भएका थिए।

यस्तै २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित उनी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्।

क्यान्सर रोगबाट पीडित ७५ वर्षिय गिरिको शनिबार राति साढे ९ बजे उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो। आइतबार उनको पशुपति आर्यघाटमा अन्त्यष्टि भएको छ।