सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बारम्बार यौन शोषण गरेको कसुरमा मनोज पाण्डेलाई ७ वर्षको कैद सजाय सुनाइएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले पाण्डेलाई ७ वर्षको कैद सजाय हुने फैसला सुनाएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई मानव बेचबिखन गरेको कसुरमा ७ वर्षको कैद सजाय र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएका हुन् ।
काठमाडौं जिल्ला अदालतले गत माघ १० गते नै पाण्डेलाई बाल यौन दुरुपयोग र मानव बेचबिखनको मुद्दामा दोषी ठहर गरेको थियो । माघ १० गते भएको फैसला अनुसार बाल यौन दुरुपयोगमै त्यतिबेला नै ६ महिना कैद सजाय र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको थियो ।
मानव बेचबिखनको कसुरमा भने ३ वर्षभन्दा बढी कैद सजाय हुने भएकाले सजाय निर्धारणका लागि माघ २३ गतेको पेसी तोकिएको थियो ।
सोमबार मानव बेचबिखनको कसुरमा ७ वर्षको कैद सजाय सुनाएलगत्तै पाण्डे अब कम्तीमा ७ वर्ष कैदमा बस्नुपर्ने देखिएको हो ।
प्रतिक्रिया