नेपाल पूर्व, पश्चिम, उत्तर र दक्षिणका प्रमुख सभ्यताको संगमस्थल : प्रधानमन्त्री प्रचण्ड 

नेपाल पूर्व, पश्चिम, उत्तर र दक्षिणका प्रमुख सभ्यताको संगमस्थल : प्रधानमन्त्री प्रचण्ड 

कहिरन समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताएका छन्।

२८५९औं सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आइतबार काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेको उल्लेख गरे।

‘आजदेखि सुरू भएको तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्व–२८५९ ह्योई-तावर ल्हो (बिरालो वर्ष)को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइ सबैलाई सु–स्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भने।

नेपाल पूर्व, पश्चिम, उत्तर र दक्षिणका प्रमुख सभ्यताको संगमस्थल भएको उल्लेख गर्दै उनले यहाँ एक सय २५ जातजाति, एक सय २३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्ने बताए।

नेपालमा बसोबास गर्ने सबै जाति-जातजातिको आ-आफ्नो परम्परा, रीतिरिवाज र संस्कृति रहेका र यी सबै संस्कृतिको समग्रता तथा एकीकृतस्वरूप नै नेपालको राष्ट्रिय संस्कृति भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे।

‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीका लागि गौरवको कुरा हो,’ उनले भने।

प्रधानमन्त्री दाहालले त्यसलाई राष्ट्रिय सम्पत्तिको संज्ञा दिए।

‘नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो। ल्होछार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो,’ उनले भने।