राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक फिर्ता गर्न आग्रह

राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक फिर्ता गर्न आग्रह

कहिरन समाचार

नागरिकता अध्ययन कार्यदलले गत साउन १५ गते संसदबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्न आग्रह गर्दै राष्ट्रपति भण्डारीलाई अनुरोधपत्र बुझाइएको जानकारी दिइएको हो ।  पत्रकार सम्मेलनमा बोल्दै अध्ययन कार्यदलका सह–संयोजक नारायण शर्माले नागरिकता विधेयकलाई चरम राष्ट्रघाती विधेयकको संज्ञा दिए । यो विधेयकले देशको अस्तित्व नै खतरामा जाने उनको भनाइ थियो । देशभक्त नागरिकको हैसियतले आफुहरुले यो विधेयकविरुद्ध अभियान नै चलाएको उनले स्पष्ट पारे ।

अध्ययन कार्यदलले नेपालको जन्मसिद्ध बाबु–आमाले नागरिकता प्राप्त गरिसकेपछि मात्र नेपालमा जन्म भई नेपालमा नै स्थायी बसोबास गरेका सन्तानहरुले मात्र नागरिकता पाउने हक हुने जनाएको छ । हकै नभएकाले पनि नागरिकता पाउने गरी ल्याइएको विधेयक राष्ट्रघाती भएको कार्यदलको ठहर छ ।

कार्यक्रममा बोल्दै नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले नागरिकता विधेयक अहिलेको राज्य व्यवस्था विपरित भएको टिप्पणी गरे । चुनावको लागि नागरिकता विधेयकलाई फास्ट–ट्रयाकमा लगेर पारित गरिएको उनका भनाई थियो ।

देशभक्त नागरिक समाजका गोविन्द बोहोराले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मदन भण्डारीको उद्देश्य र भावनालाई स्मरण गर्न आग्रह गर्दै नागरिकता विधेयक फिर्ता गर्न आग्रह गरेका छन् । देशमा यसअघि धेरै राष्ट्रघाती सन्धिहरु भइसकेको उनको भनाइ थियो ।

सो क्रममा पुष्पलाल समाजका सचिव मुकुन्द आचार्य, नेकपा मार्क्सवादी पुष्पलालका महासचिव मानध्वज गुरुङ, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले पनि नागरिकता विधेयकको विरोध गरेका छन् ।