नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित

नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित

कहिरन समाचार

साउन १२, काठमाडौँ । नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । प्रतिनिधि सभाले संशोधन सहित पारित गरेको विधेयक आज बसेको राष्ट्रिय सभाको बैठकले पारित गरेको हो ।

अब यो विधेयक राष्ट्रियसभाले प्रतिनिधिसभामा नै पठाउनेछ र प्रतिनिधिसभाले राष्ट्रपतिसमक्ष पठाउनेछ । यो विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेपछि ऐनको रुपमा कार्यान्वयनमा जानेछ ।

पारित विधेयकमा अंगिकृत लिन सात वर्ष कुर्नु नपर्ने व्यवस्था गरिएको हो । नेपाली नागरिकसँग विवाह भएकी विदेशी महिलाले आफ्नो देशको नागरिकता त्यागेको निस्सा पेस गरेपछि नेपालको अंगिकृत नागरिकता लिन पाउने व्यवस्था विधेयकमा गरिएको छ । विधेयकमा विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था पनि विधेयकमा गरिएको छ ।

विधेयकमा पहिचान सहितको नागरिकताको व्यवस्था गरिएको छ । विधेयकमा नागरिकता ऐन २०६३ को दफा ८ पछि ८क. थपेर नागरिकताको अभिलेखमा आमा, बाबु दुवैको नाम र विवरण राख्नु पर्ने साथै नेपाली नागरिकताको प्रमाणपत्रमा ‘तोकिए बमोजिम’ लैङ्गिक पहिचान समेत खुलाउनु पर्ने व्यवस्था गरिएको छ ।

नागरिकता ऐन २०६३ को मूल ऐनमा संशोधन गरेर गैर आवासीय नेपालीले नागरिकता प्राप्त गर्ने व्यवस्था पनि गरिएको छ । विधेयकमा ‘मन्त्रालय समक्ष’ भन्ने शब्द हटाएर ‘तोकिएको अधिकारी समक्ष’ भन्ने शब्दहरू राखिएको छ । अब नागरिकता ऐनमा संशोधन भए अनुसार नियमावली बन्ने गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाकी उपसचिव लीलाकुमारी केसीले जानकारी दिइन् ।