अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आइपुगे

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आइपुगे

कहिरन समाचार

साउन १२, काठमाडौँ । दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका छन् । सहायकमन्त्री लु तीन सदस्यीय टोलीसहित विस्तारा विमानमार्फत भारत हुँदै काठमाडौं आइपुगेका हुन् ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा लु नेपालको तीनदिने भ्रमणमा आएका हुन् । उनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपाल सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने निर्णय गरेको एक महिनापछि लुले नेपालको भ्रमण गरेका हुन् । सरकारले असार ६ मा एसपीपीलाई अघि नबढाउने निर्णय गरेको थियो । तर सरकारले हालसम्म अमेरिकालाई औपचारिक रुपमा पत्राचार गरेर जानकारी समेत गराइसकेको छैन ।

यसअघि सहायकमन्त्री लु अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको संसदबाट अनुमोदन हुनुअघि गत मंसिरमा नेपाल भ्रमणमा आएका थिए । नेपालको संसदले फागुन १५ मा एमसीसीलाई १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसद्‌बाट पारित गरेको थियो ।

यस्तै, लु त्रिभुवन अन्तराष्टिय विमानस्थलमा उत्रने वित्तिकै विमानस्थलमै कालो झण्डा देखाउन खोज्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरु विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हुन् ।