बेँसी झारिए भेडी गोठ

बेँसी झारिए भेडी गोठ

कहिरन समाचार

लमजुङमा चरनका लागि लेकमा लगिएका भेडी गोठ चिसो बढेसँगै बेँसी झारिएका छन् । अहिले जिल्लाका उच्च हिमाली भेगमा रहेका चरन क्षेत्र हिउँले ढाक्न थालेका छन् भने चिसो बढेसँगै गोठालाले आ–आफ्ना भेडाका बथान बेँसी झार्न थालेका हुन् ।

घले गाउँको भेँडीगोठ लेकबाट झरेर गाउँमै आइपुगेको गङ्गा घलेले बताए । ४५०० मिटरभन्दा माथि उचाइको जडीबुटी (कुड्की, बन लसुन, पाँच औले, निर्मसी, सतुवा र यार्सागुम्बा) खाएका भेडा बाख्रा घले गाउँको डाँडामा आइपुगेको उनले बताए ।  घले गाउँको तीन वटा भेँडीगोठ रहेका छन् । अहिले दुई वटा मात्रा झरेका छन् भने अर्को पनि झर्दै छ ।

हिमालको काखमै रहेको ठुले लेक, थुर्जु र दूध पोखरीमा पुगेर गाउँ फर्किएको र अब गर्मी याम सुरु भएपछि सोही स्थानतर्फ लाग्ने उनको भनाइ छ ।

घले गाउँ, भुजुङ, सिउरुङ, पसगाउँ, सिङ्दी, दूधपोखरी, घनपोखरा, इलमपोखरी, पाचोक, ताघ्रिङ, बन्सार, फलेनी, ढोडेनी र भुलभुलेलगायतका  स्थानीयका भेँडीगोठ रहेका छन् । उनीहरुले अहिले गाउँ बस्ती नजिकै भेडी गोठ ल्याउन थालेका छन् । विशेष गरी गुरुङ समुदायको पुर्खौली  पेसाका रूपमा भेँडीगोठलाई लिइन्छ ।

पसगाउँको भेँडीगोठ यति बेला केही क्युबे–ल्हेदे आइपुगेको र केही गाउँसम्म आएको स्थानीयवासीको भनाइ छ । भुजुङको भेडी गोठ खोला फाल्न्हेसम्म पुग्ने गरेकोमा अहिले क्युबारमा रहेको भेडी गोठालाले जानकारी दिएका छन् ।