काठमाडौं १ मा प्रकाशमान सिंहको जीत

काठमाडौं १ मा प्रकाशमान सिंहको जीत

कहिरन समाचार

काठमाडौं क्षेत्र नम्बर १ मा नयाँ उम्मेदवारहरूबीच मत बाडिँदा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले १३२ मतको झिनो अन्तरले जीत हात पारेका छन्।यहाँ प्रकाशमानले ७१४३ मत पाएका छन् भने उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७०११ मत पाएका छन्।

काठमाडौं- १ मा विगतमा कांग्रेसको ठूलो मत थियो। यसपालि कांग्रेसको मत पनि केही बाँडिएको देखिन्छ। कांग्रेसको १४ औं महाधिवेशनलाई लिएर काठमाडौं १ का केही कांग्रेस सिंहसँग असन्तुष्ट थिए। सिंहले अन्तिम समयमा सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेका थिए।

अघिल्लोचोटि नेकपा एमाले र माओवादीको वाम गठबन्धनका बाबजुद प्रकाशमान १०९३६ मत ल्याएर विजयी भएका थिए। त्यति बेला पराजित मिश्रले विवेकशील साझा पार्टीबाट १०११८ मत ल्याएका थिए भने वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले ५३३६ मत ल्याएका थिए।