नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध आज सोमबार मुद्दा दर्ता गर्ने तयारी गरेको छ। किशोरी बलात्कारको आरोपमा पक्राउ परेका उनीविरुद्ध प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको १ हप्तापछि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्न लागेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता अच्युतमणि नेहुपानेले जानकारी दिए ।
विदेशबाटै फर्कँदै गर्दा २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका सन्दीप प्रहरी हिरासतमा बसिसकेका छन् । जबरजस्ती करणी मुद्दामा प्रहरीले अधिकतम २५ दिनसम्म मात्र थुनेर अनुसन्धान गर्न पाउँछ । तर, तिहार र छठको एक साता लामो बिदाका कारण सन्दीप २५ दिनभन्दा लामो समय हिरासतमा बसेका थिए ।
आज सोमबार अदालत खुलेसँगै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ताको तयारी गरेको हो । १७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले काठमाडौँको एक होटलको ३०५ नम्बर कोठामा लगेर बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालमा भदौ २१ गते किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका थिए ।
प्रतिक्रिया