भदौदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी

भदौदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी

कहिरन समाचार

साउन १२, काठमाडौँ । बञ्चरे डाँडा र सिसडोलका बासिन्दाले फोहोर लान नदिने चेतावनी दिएका छन् । सरकारसँग भएको सहमतिअनुसार माग पूरा नभएको भन्दै उनीहरूले भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी दिएका हुन् ।

स्थानीयले साउन ३१ भित्र फोहोर मैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव बस्तीहरू अलग गर्ने लगायतका काम सुरु नगरे सदाका लागि फोहोर फाल्न नदिने बताएका छन् ।

स्थानीय सङ्घर्ष समितिले हिजो बुधबार सहरी विकास मन्त्री मेटमणि चौधरीलाई ज्ञापनपत्र बुझाएर फोहोर रोक्ने चेतावनी दिएका हुन् । त्यस्तै, गृहमन्त्री बालकृष्ण खाँणलाई पनि सो पत्र बुझाउने तयारी गरेको तर मन्त्रीको समय नमिलेका कारण सो काम बाँकी रहेको समितिका संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिए ।

प्रभावित क्षेत्रको विषयमा सहमति गर्ने, प्रतिबद्धता जनाउने तर कार्यान्वयन नगर्ने राजनीतिक दल, काठमाडौँ महानगरपालिका र सरकारलाई नरसंहार गर्न लागेको समितिको आरोप छ ।