९२ लाखको प्रतिबन्धित प्लास्टिकको फूलमाला नेपाल भित्रियो

९२ लाखको प्रतिबन्धित प्लास्टिकको फूलमाला नेपाल भित्रियो

कहिरन समाचार

सरकारले प्लास्टिकजन्य फूल माला र गुच्छाको आयात, उत्पादन र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाए पनि भित्रिन भने रोकिएको छैन । साउन र भदौमा मात्रै नेपालमा ९२ लाख १८ हजार मूल्य बराबरको २८ हजार ६८५ किलो बराबारको प्लास्टिकका माला नेपाल भित्रिएका छन् । जुन अघिल्लो महिनाको भन्दा १३ हजार २ सय किलोले बढी हो ।

वन तथा वातावरण मन्त्रालयले गत ४ साउनमा वातावरण संरक्षण ऐन अनुसार राजपत्रमा सूचना प्रकाशित गरेर प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको थियो । सरकारले प्रतिबन्ध लगाएको पहिलो महिना साउनमा ५६ लाख ७६ हजार रुपैयाँको १५ हजार ४४१ किलो यस्ता माला नेपाल भित्रिएको थियो ।

भन्सारका कर्मचारीको मिलोमतोमा प्रतबन्धित प्लास्टिकका फूलहरु निर्वाद रुपमा नेपाल भित्रिने गरेको नेपाली पुष्प व्यपारीहरुको आरोप छ । व्यापारीसँगको मिलोमतोमा भन्सार कार्यालयहरुले कृत्रिम फूलको अवैध आयातलाई वैध बनाएको नेपाली पुष्प व्यपारीहरु बताउँछन् ।

फूल आयात भएकोबारे भन्सार विभागले भने अनविज्ञता प्रकट गरेको छ । राजपत्रको सूचना र भन्सार कार्यालयहरु बीच सूचना समन्वय नहुँदा यस्तो भएको हुनसक्ने भन्दै यसबारे थप बुझ्ने विभागका सूचना अधिकारी पुण्यबिक्रम खड्काले बताए । आयात प्रतिबन्ध अघि नै एलसी खुलेको हकमा भने नाकामा आएको सामान जाँच पास भएको हुनसक्ने उनको अनुमान छ । तर, राजपत्रले आयात अनुमति पाएका वा बैकिङ प्रणाली पूरा गरेको विषयमा केही बोलेको छैन ।