राष्ट्रपति भण्डारीले बडादसैँको शुभकामना सन्देश जारी

राष्ट्रपति भण्डारीले बडादसैँको शुभकामना सन्देश जारी

कहिरन समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ नेपालीहरूको साझा राष्ट्रिय मनोविज्ञानको एक महत्वपूर्ण कडी भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले महान् चाड बडादसैँ, २०७९ को पावन अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बडादसैँको धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक आयामहरू रहेको बताइन् ।

बडादसैँ पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप  उत्साह, उमङ्गका साथ  क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरिन्।

सन्देशमा भनिएको छ,’यस प्रकारका चाडपर्वहरूको माध्यमबाट विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बीचमा आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’ वर्षा ऋतुको अन्त्य र शरद ऋतुको सुरुवातसँगै मनाइने बडादसैँ पर्वको धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक आयामहरू रहेका छन् ।

‘घरको लिपपोत र बाटोघाटो सरसफाई गर्ने, लिङ्गे पिङ–रोटे पिङ खेल्ने, मान्यजनबाट टीका लगाउने र आफन्त भेटघाटका लागि माइत मावली जाने गरिन्छ,’ सन्देशमा भनिएको छ, ‘बडादसैँको अवसरमा गरिने रमाइला सामाजिक सांस्कृतिक क्रियाकलापहरू आम नेपालीको मन मस्तिष्कमा सुखद् स्मृतिका रूपमा अमिट भएर बसेका हुन्छन्, तसर्थ बडादसैँ नेपालीहरूको साझा राष्ट्रिय मनोविज्ञानको एक महत्वपूर्ण कडीको रूपमा रहेको छ भन्ने मलाई लाग्दछ ।’

साथै उनले बडादसैँको अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरिन् । नेपालीहरूको सबैभन्दा ठूलो चाडका रूपमा रहेको बडा दसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशमीका दिन प्रसाद स्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेष रूपमा मनाउने गरिन्छ ।